एमालेले आज जिल्ला अधिवेशन गर्दै

न्युजलय २३ पुस २०७८, शुक्रबार ०१:३५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्ने भएको छ।


सम्भव भएसम्म ७७ जिल्लामै आज अधिवेशन गरिने एमालेले जनाएको छ। अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

 

राष्ट्रिय महाधिवेशन गरिसकेर एमालेले जिल्ला र प्रदेश अधिवेशन गर्न लागेको हो।


गत मंसिरमा भएको दसौं महाधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी गठन भएको थियो।


आज अध्यक्ष ओलीले थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

 

एमाले केन्द्रीय कमिटीले पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो।


एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ।


अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ। जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिनेछ।