ज्यान मार्ने षड्यन्त्र कसुरमा पूर्व मन्त्री सञ्जय साहलाई ११ वर्ष कैद

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार १२:४६ मा प्रकाशित

 जनकपुरधाम । जनकपुरधाम बम काण्डमा पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’लाई उच्च अदालत जनकपुरले ११ वर्षको सजाय फैसला गरेको छ। 

पाँच जनाको मृत्यु र ४० जनाभन्दा बढी व्यक्ति घाइते हुने गरी भएको बम बिष्फोटको घटनामा ‘ज्यान मार्ने षड्यन्त्र कसुर’मा अदालतले उक्त फैसला सुनाएको हो।

विक्की दास कथबनियाले दिएको मुद्दामा न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले सोमबार साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो। यसअघि जिल्ला अदालत धनुषाले साहलाई २०७५ सालमा मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराइएको थियो। जसमा परी ५ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।

उक्त घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा दायर गरिएको थियो।

साह ललितपुरको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्। उनी धनुषा क्षेत्र नम्बर ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरम र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई सांसद रहेकै बेला भारतको दिल्लीबाट पक्राउ गरिएको थियो।