आफै अध्यक्ष भएको पार्टीबाट निकालिए बामदेव गौतम

न्युजलय १९ असार २०७९, आइतबार ०१:४१ मा प्रकाशित

काठमाडौ । पूर्वएमाले नेता वामदेव गौतम आफै अध्यक्ष भएको पार्टीबाट निकालएका छन् । विभिन्न साना कम्युनिष्ट पार्टी नेताहरु समेटेर बनाएको पार्टीबाट उनी निकालिएका हुन् । गत असार १४ गते मात्र घोषणा गरेको ‘नेकपा एकता राष्ट्रिय अभियान’ नामको पार्टीका बाँकी सदस्यहरुले उनीमाथि विभिन्न आरोप लगाउँदै पार्टी निकाला गरेका छन् । 

वामदेव गौतमलाई पार्टीबाट निस्काषित गरेको विज्ञप्तिमा भनिएको छ, ‘आम नेपाली पार्टी प्रमुखहरुको बैठक सतुंगलस्थित एक पार्टी प्यालेसमा बसी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक कमरेड बामदेव गौतमलाई अभियानमा जोडिएका चार पार्टीको बहुमतबाट अभियानको संयोजकबाट निष्काशन गरिएको छ।’

वामदेवलाई हटाएर उनका ठाउँमा एकता अभियानका सचिवालय सदस्य युवराज सफललाई संयोजकमा चयन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा वामदेव गौतममाथि लगाइएको आरोपहरु –

  • प्रतिवेदनमा सैद्धान्तिक तथा बैचारिक मतभेद रहेको।
  • असमान सन्धी सम्झौताको विषयमा मौनता साँधेको।
  • केन्द्रीय समितिमा अभियानमा जोडिएका राजनीतिक पार्टीहरुलाई सम्मानजनक सिट संख्या नदिइएको। 
  • केन्द्रीय सचिवालय एकलौटीरुपमा बनाएको। सचिवालयमा पार्टीका प्रमुखहरुलाई समावेश नगरेको।
  • केन्द्रीय समिति घोषणा गर्दा वरियता निर्धारण नगरेको।
  • केन्द्रीय समिति बैठकले बनाएको वार्ता टोलीलाई सक्रिय नबनाएको।
  • अभियानमा जोडिएका पार्टीहरुलाई सम्मानजनक व्यवहार नगरेको। 
  • सम्मान, जोस, जाँगर र उत्साहपूर्वक कार्य गर्ने वातावरण नभएको।