दक्षिण कोरियामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित थपिए

न्युजलय २८ फाल्गुण २०७८, शनिवार ०७:२८ मा प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या शुक्रबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।


योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरूको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक देखिएको बताइएको छ । नयाँ सङ्क्रमित मध्ये ८० हजार ४३७ जना राजधानी सोलका मात्रै रहेका छन् । 


त्यसैगरी ग्योङगी प्रान्तमा एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ हजार ७३५ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये एक हजार ६६ जना मात्रै गम्भीर अवस्थामा रहेका छन् । ती मध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन । 


कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या भने १० हजार १४४ पुगेको अधिकारीहरूले जनाएका छन् ।