अध्यक्ष दाहालः ‘हाम्रो पार्टी पार्टीजस्तो भएन’

न्युजलय १७ साउन २०८०, बुधबार ०९:०५ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् । 

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गरेका हुन् । 

अध्यक्ष दाहालले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रीय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्नेसमेत बताए । 

नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले पार्टी पुनर्निर्माणका लागि ऐतिहासिक कदम चाल्न केन्द्रीय समितिका नेताहरूले गम्भीरतापूर्वक जिम्मेवार भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउनेसमेत बताए । 

पछिल्लो चरणमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका पहलकदमी र गरिएका गतिविधिहरूबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष दाहालले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यकतासमेत औंल्याए ।