नारायणहिटी दरबार संग्रहालयभित्र महायज्ञ लगाउने तयारी

न्युजलय १७ माघ २०७८, सोमबार १०:३६ मा प्रकाशित

काठमाण्डौ । नारायणहिटी दरबारको पूजाघरभित्र महायज्ञ लगाउने तयारी गरिएको छ। 

तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’ गरेको दिन माघ १९ गतेदेखि महायज्ञ सुरु गर्न लागिएको हो।

महायज्ञ सञ्चालका लागि गत पुस २ गते आयोजक नमस्ते परोपकारी अभियान र सती श्राप मोक्ष धामले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएका थिए।

मन्त्रालयका सविच महेश्वर न्यौपानेसहितको बैठकले महायक्ष सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सोहीअनुसार महायज्ञका लागि ठाउँ उपलब्ध गराइएको नारायणहिटी दरबार संग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार अमनचयन, सुव्यवस्था र देशलाई विभिन्न संकटबाट मुक्ति दिलाउन महायज्ञ आयोजना गर्न लागिएको हो । 

महायज्ञका लागि सम्पूर्ण तयारी पूरा भइसकेको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ ।