एमालेले समानुपातिक उम्मेदवार भोलि चयन गर्ने

न्युजलय २ असोज २०७९, आइतबार ०२:३८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार भोलि तय गर्ने भएको छ । शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी सचिवालयको बैठकले भोलि उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । 


बैठकबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाका ११० र ७ वटा प्रदेशसभाका २२० जना समानुपातिक उम्मेदवार आइतबार तय गरिने जानकारी दिए । उनले आइतबार बिहान ११ बजे सचिवालय बैठक बस्ने बताए । 


शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक उम्मेदवार चयनको मापदण्ड, समावेशी क्लस्टरबारे ब्रिफिङ गरेका थिए । निर्वाचन कार्यतालिकाअनुसार आइतबार र सोमबार दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने छ । 


शनिबारको बैठकले अछाममा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्दारका लागि सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ ।