भोजपुरमा कुटपिट गरी आमाको हत्या

न्युजलय २७ मङ्सिर २०८०, बुधबार १२:०१ मा प्रकाशित

भोजपुर । भोजपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका५ खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको हो ।

घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मङ्सिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आरोपित सन्देशलाई प्रहरीले पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।