बिहारमा आगलागी हुँदा ३० जना घाइते

न्युजलय १३ कार्तिक २०७९, आइतबार ०२:३६ मा प्रकाशित

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन् । बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने औरंगाबाद जिल्लाको शाहगञ्ज इलाकामा आगलागी भएको हो । 


अधिकारीहरूका अनुसार विद्युत चुहावट भई शुरू भएको आगलागीपछि त्यहाँ रहेको ग्यास सिलिण्डर विस्फोट भएको थियो । स्थानीय समयअनुसार बिहान २ः३० बजे छठ पूजाका लागि खाना पकाउने क्रममा एक्कासी भवनमा आगो लाग्यो र खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भयो जसकारण धेरै मानिस घाइते भएको बताइन्छ । 


परिवारका लगभग २० जना सदस्य घाइते बनेका स्थानीय ब्यापारी अनिल गोस्वामीले सञ्चारमाध्यमलाई बताए । आगलागी पछि प्रहरी र दमकल विभागका अधिकारीहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए ।   


यस्तै, आगो निभाउने क्रममा सात जना प्रहरी र केही स्थानीयवासीसमेत आगोले पोलेर घाइते भएका समाचारमा जनाइएको छ ।