कोशी सरकारको वैधानिकताविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने

न्युजलय ७ भदौ २०८०, बिहिबार ०१:५३ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा बिहीबार(आज) हुने भएको छ । 

बुधबार दायर रिटमा थापाले लिएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गरिएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सो रिट बिहीबारको पेसीमा चढेको जानकारी दिए । सोहीअनुसार रिट  कुनै न्यायाधीशको इजलासमा पेस भई अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशको माग हुन सक्नेछ ।

नेकपा (एमाले) का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइएको छ । 

रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उल्लेख छ ।