वीपी प्रतिष्ठानका वहालवाला पदाधिकारी र रजिष्ट्रारलाई कारबाही गर्न सिफारिस

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार ०१:१२ मा प्रकाशित

धरान । वीपी प्रतिष्ठान धरानका उपकुलपतिसहित वहालवाला ३ पदाधिकारी र राजिनामा दिएका रजिष्ट्रारलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।

प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वाथ्यमन्त्री विरोध खतिवडा संयोजक रहेको ३ सदस्यीय छानबिन समितिले शुक्रबार (आज) बिहान प्रतिवेदन बुझाएको छ। 

प्रतिवेदन बुझाउन छानबिन समिति सदस्यद्धय स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र धरानका मेयर तिलक राई पनि प्रधानमन्त्री कार्यालय गएका थिए। 

उक्त प्रतिवेदनले उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कारबाही गर्न सिफारिश गरेको छानबिन समितिका सदस्य एवं धरानका मेयर राईले जानकारी दिए। 

यसअघि पनि छानबिन समितिको रिपोर्टको आधारमा कारबाही गर्नुपर्ने देखिएकोले वहालवाला ३ जना पदाधिकारीलाई सोही अनुसार सिफारिश गरिएको बताइएको छ ।

अब चाडै सिनेट बैठक राखेर प्रतिवेदन पारित गर्ने र पदबाट हटाइने बताइएको छ । यसको लागि प्रधानमन्त्री देउवाले निर्देशन समेत दिइसकेको मेयर राईले बताए । 

यसैगरि, रजिष्ट्रारबाट राजिनामा दिइसके पनि प्रा.डा.मोहनचन्द्र रेग्मीको कार्यकालमा भएको खरिदलगायत कुराहरुको आवश्यक छानबिन गरेर उनलाई पनि थप कारबाही गर्न सिफारिश गरिएको मेयर राईले बताए।