सोलुखुम्बु । देशभर तापक्रम बढिरहेका बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मी बढ्न थालेको छ । प्रायः चिसो भइरहने नाम्चे बजारमा एक सातादेखि गर्मी महसुस गरिएको छ ।
एक सातादेखि यहाँ टन्टलापुर घाम लागिरहेको छ । दैनिक तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ ।
यसअघिका वर्षमा यो समय यहाँको औसत तापक्रम ४ देखि ५ डिग्री सेल्सियससम्म हुने गर्थ्यो । गर्मीले गर्दा स्थानीय दिउँसो घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको बताइएको छ ।
समुद्र सतहबाट ३४ सय मिटर उचाइमा रहेको नाम्चेमा समेत गर्मी बढ्दा कृषि कर्ममा समेत असर गरेको छ ।
त्यसैगरी, सोलुखुम्बुकै स्याङबोचेमा पछिल्ला तीन दिनयता तापक्रम निरन्तर उकालो लागिरहेको छ । मंगलबार १४.१ डिग्री सेल्सियस मापन गरिएको तापक्रम शुक्रबार १५.२ डिग्री पुगेको छ ।
उता, मुस्ताङको जोमसोममा पनि पछिल्लो चार दिनयता तापक्रममा लगातार वृद्धि भइरहेको छ ।