बिपी प्रतिष्ठानका अधिकृत साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

न्युजलय १३ फाल्गुण २०८०, आइतबार ०७:४९ मा प्रकाशित

काठमाडौँ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत, काठमाडौँले दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो।

प्रतिष्ठानको हाताभित्र व्यवसाय गरिरहेका व्यवसायीहरूसँग आफ्नो अधिकार नै नभएको अवस्थामा पनि बिजुलीको महसुल संकलन गरी हिनामिना गरेको अभियोगमा तेजनारायण साहलाई दोषी ठहर गरिएको अदालतले जनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई चार वर्ष कैद फैसला गरेको बताइएको छ ।

इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत साहले प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका व्यवसायीहरूबाट विद्युत् महसुलबापतको ३३ लाख २० हजार २२६ रुपैयाँ उठाएर आफ्नो खातामा हालेका थिए।

विपी प्रतिष्ठानकै खातामा जम्मा गर्नुपर्ने रकमलाई साहले हिनामिना गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २५ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो। उनलाई बिगो बराबर जरिवानासमेत भएको बताइएको छ ।