काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाल प्रहरीलाई अनुसन्धाबाट बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन् ।
सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय (नवराज ढुंगाना) लाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोलाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताए ।
उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान ओझेलमा पर्ने दाबी गरे । नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताए।
‘एउटा प्रकरण निस्किन्छ, त्यो इस्यु अघि बढाउँदै अर्को इस्यु आउँछ, पहिलाको इस्यु साइड लाग्छ । भूटानी शरणार्थीपछि ललिता निवास जग्गा प्रकरण आयो, भूटानी शरणार्थी प्रकरण रोकियो। झ्याप्प किन रोकियो भने माथि कोही न कोही मान्छे परिरहेको हुन्छ। सुन काण्ड आयो, मैले भनिरहनु पर्दैन, यो पनि सामसुम हुन्छ, किनभने माथिल्लो कोही इन्भल्व हुन्छ। राजश्व अनुसन्धान पहिला अर्थ मन्त्रालयको अण्डरमा हुन्थ्यो, ओलीजी प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याउनुभयो, शेरबहादुरजी आइसकेपछि उहाँले फर्काउनु भएन, अहिले प्रधानमन्त्रीजीले पनि फर्काउनुभएको छैन। त्यहाँ डिजी जो हुनुहुन्छ, सुन काण्ड भन्दा ७ दिन पहिला प्रधानमन्त्रीजीको पिए हुनुहुन्थ्यो। के हुँदैछ, कहाँ पुग्न खोज्दैछौँ,’ उनले भने ।
नेता कोईरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताए। उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउने बताए।
कुनै घटना आउनेबित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि आशंका व्यक्त गरे।