इटहरी । नेकपा एमाले सुनसरीको जिल्ला अधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वको लागि चुनाव हुँदैछ । सचिव र विभिन्न कोटाका १६ सदस्यमा निर्विरोध पदाधिकारी चयन भएपछि बाँकी पदमा चुनाव हुने भएको हो । सचिवमा पर्शुराम यादव सर्वसम्मत भइसकेका छन् ।
अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। पूर्व अध्यक्षहरू रेवतिरमण भण्डारी र द्वारिकलाल चौधरी र हालका अध्यक्ष खेमराज पोखरेल उम्मेदवार छन् । एक जना उपाध्यक्षको लागि नन्द बस्नेत र निलम खनाल भिड्दैछन् भने दुई जना उपसचिवमा आधा दर्जन बढीको उम्मेदवारी परेको छ । यी सबैमा अध्यक्षको रस्साकस्सी रोचक छ ।
अध्यक्षमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दिएका छन् । हक्की मेयरको रुपमा चर्चा कमाएका चौधरी पछिल्लो समय पार्टीभित्र कमजोर अवस्थामा छन् । माधव नेपालसम्बद्ध पार्टी नेकपा एससँग नजिक भएजस्तो गरी गरेका गतिविधिले गर्दा उनलाई एमालेभित्र केन्द्रिय सदस्यमै पनि वेवास्ता गरीएको छ । उचित व्यवस्थापनको लागि उम्मेदवारी दिएका चौधरीलाई फकाउन पार्टी नेतृत्व त्यती इच्छुक नदेखिएपछि उनले भिड्ने नै निर्णय गरेका हुन् । चौधरीको इच्छा भने फेरी पनि इटहरीको मेयर दोहोर्याउने छ ।
उता १० बूँदे पक्षधरका मुख्य उम्मेदवार रहेका पोखरेल दह्रा प्रतिष्पर्धी हुन् । यसअघि सबैको सहमतीमा जिल्ला अध्यक्ष बनेका पोख्रेल फेरी पनि सबैको साझा मत पाउने आशमा छन् । इनरुवा बस्ने पोखरेललाई धेरैजसो थारु तथा मधेसी समुदायको भोट आउने अनुमान छ । चौधरी र पोखरेललाई आउने मत एउटै समूहको भएको कारण भण्डारीलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।
भण्डारीलाई पनि सजिलो चाहिँ छैन । सुनसरी सह इन्चार्ज भगवती चौधरी, हालका उपसचिव लिलाम बस्नेत पनि भण्डारी विरोधी मोर्चामा छन् । त्यसबाहेक पूर्व अध्यक्ष रमेश बस्नेतले पनि पोखरेललाई वा चौधरीलाई नै समर्थन गर्ने देखिन्छ । तर नेताहरुको समर्थनले अधिवेशन प्रतिनिधिहरुको मतलाई कति विभाजन गर्छ भन्न सकिने अवस्था छैन ।
तुलनात्मक रुपमा भण्डारी कार्यकर्ता माझ लोकप्रिय छन् । सबै समुदाय र समुहसँग भिज्न सक्ने उनको क्षमताले उनलाई दह्रो उम्मेदवारको रुपमा खडा गरेको हो । त्यसमाथि एमालेभित्र माधव नेपाल र केपी ओलीको अन्तरसंघर्ष चलिरहेको जोखिमको समयमा भण्डारीले सुनसरी एमालेलाई अघि बढाएका थिए ।
मोरङ र झापा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भइसक्दा सुनसरीमा भने चुनाव हुने भएको छ । पार्टी नेता भीम आचार्यले पुरानो रिसइवी साध्न आफ्नै गृह जिल्लामा सर्वसम्मत नेतृत्व नचाहेको र भण्डारीविरुद्द पोख्रेल र चौधरीलाई उम्मेदवार खडा गरेको समेत आकलन छ । यस्तोमा ओली पक्ष नेता कार्यकर्ता बढी रहेको सुनसरीमा यो घेराबन्दी भण्डारीको लागि अझ फाइदाजनक हुने समेत कतिपयको विश्लेषण छ ।