सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानको विरोद्धमा युवा संघद्वारा प्रदर्शन

न्युजलय २५ जेठ २०७९, बुधबार ०१:३० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक रवैयाको संज्ञा दिदैँ विरोध प्रदर्शन गरेको छ ।


राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यावहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । 


प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलोचना गरिएको छ । प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले यदि राज्यको सुरक्षाको लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताए ।  इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियालाई पोस्ने काम गरेको बताए । 


इम्बोस्ड नम्बर प्लेट जडानमा अरबौँको स्वार्थ लुकेको भन्दै युवा संघ अध्यक्ष पौडेलले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि लिखित उजुरी दिइने बताए ।