सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट यार्सागुम्बा सङ्कलन शुरू

न्युजलय १३ जेठ २०७९, शुक्रबार ०६:५३ मा प्रकाशित

 काठमाडौँ । सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन शुरू भएको छ।

दुई वर्षदेखि रोकिएको यार्सागुम्बा सङ्कलनकार्य जेठ १० गतेदेखिसुरु गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण दुई वर्षदेखि निकुञ्जले यार्सागुम्बा सङ्कलनमा रोक लगाएको थियो। उक्त निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइन्छ।

कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ। अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा सङ्कलन गर्न पाउनेछन्।

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ। उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ।