काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई स्वस्थ, प्रतिस्पर्धी, मर्यादित बनाउन र पत्रकारीतामा पेसागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन्।
मन्त्री कार्कीले मिडिया काउन्सिल विधेयक, २०७६ माथि पनि सैद्धान्तिक छलफलका क्रममा आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताएका हुन्। उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै नेपाललाई प्रेस स्वतन्त्रताका क्षेत्रमा अग्रणी मुलुकका रूपमा विकास गर्नुपर्ने बताए।
उनले साबिकको प्रेस काउन्सिलको गतिविधिले पत्रकारिता क्षेत्रको सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले उक्त संस्थालाई प्रतिस्थापन गरी सूचना र सञ्चार क्षेत्रको प्रविधिमा भएको विकास तथा पत्रकारिताको क्षेत्रमा देखिएका नवीन अभ्यास र चुनौतीलाई सम्बोधन गर्न मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको धारणा राखे।
विधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवार अभ्यास बढ्ने, सञ्चारसँग सम्बन्धित विभिन्न पक्षबीचको गुनासालाई स्वनियमबाट सम्बोधन गर्न सकिने उनको भनाइ छ ।