मजदुरले थाले कार्यथलो सफाइ अभियान

न्युजलय २९ असोज २०८०, सोमबार ०८:२२ मा प्रकाशित

इटहरी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो काम गर्ने थलो सफाइ गरेका छन् । कार्यथलो अभियान नाम दिएर सोमबार इटहरी बसपार्कको सरसफाइ गरेका हुन् । 

संगठनका अध्यक्ष भीमज्वाला राईको अगुवाइमा यातायात मजदुरहरुले आफुले काम गर्ने थलो बसपार्कलाई सरसफाइ गरेकाहुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असोज ६ गतेदेखि देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियानअन्तर्गत दशै लक्षित बसपार्क सरसफाइ कार्यक्रम आयोजना गरिएको मजदुर नेता भीमज्वाला राईले बताए ।

बिहान ७ बजे हातमा झाडु, डस्टबीन र सरसफाइका सामग्री सहित बसपार्क निस्किएका मजदुरहरुलाई नेपाल प्रहरी, बसपार्क आसपासका व्यापारी तथा बसपार्क व्यवस्थापन समितिले समेत साथ दिएका थिए । 

बसपार्कमा हामी विहान ४ बजेदेखि राती ९ बजेसम्म करिव १८ घण्टा बस्छौं, बसपार्कसंग हाम्रो जीवन जोडिएकोछ हामी आफैले काम गर्ने कार्यथलोलाई सरसफाइ गर्नु हामी सबैको दायीत्व भएकाले सरसफाइ गरिएको बसपार्कका मजदुर तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी प्रदेश अध्यक्ष गौरी लामाले बताए । 

मजदुरले काम गर्ने थलोमै पुगेर मजदुरहरुको समस्या संकलन गर्ने, समाधानका लागि पहल गर्ने र रचनात्मक काम गर्ने संगठनको अभियान भएकाले हामीले सबैको सहयोगमा सरसफाइ गरिएको बसपार्कका मजदुर तथा संगठनका कोशी प्रदेश सचिव महेश घिमिरेले बताए ।  

यो सरसफाइको कामलाई संगठनले कार्यथलो अभियानका क्रममा मात्रै होइन अब हामी यसलाई निरन्तरता दिन्छौं सरसफाइ अभियानको सुरुवात आजबाट भएको संगठनका प्रदेश कमिटी कोषाध्यक्ष काजी राईले बताए ।