कोशीको मुख्यमन्त्रीका लागि लिङ्देनसँग देउवाले मागे सहयोग

न्युजलय १९ असार २०८०, मङ्गलबार ०७:४५ मा प्रकाशित

काठमाडौँ । राप्रपाले कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस–माओवादी गठबन्धनलाई साथ दिने कि प्रतिपक्षमा बसेर मध्यावधि चुनावको वातावरण बनाउने भन्ने निर्णय लिन सकेको छैन । राप्रपाको कोशी प्रदेशको संसदीय दलको बैठकले यो निर्णयको जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

अध्यक्ष लिङ्देनको घरमा बसेको संसदीय दलको बैठकले शीर्ष तहबाट टुंगो लगाउनेगरी निर्णय लिन लिङ्देनलाई जिम्मा दिएको छ । राप्रपाका एक नेताको भनाइमा पाए मुख्यमन्त्री लिने नपाए आर्थिक मामिला वा आन्तरिक मामिला मन्त्रालय लिएर सरकारमा जाने कि भन्ने मत राप्रपामा रहेको छ । 

यद्यपि, मध्यवधिमा प्रदेशको चुनाव लैजाने कि नलैजाने भन्ने चाहिँ राप्रपाकै हातमा रहेको छ । राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई जिम्मा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले लिङ्देनसँग छलफल गरिसकेका छन् । 

देउवा समूहकै नेता उद्धव थापा मुख्यमन्त्री हुने भएपछि देउवाले सक्रियता बढाएका हुन् । त्यसैले, देउवा र लिङ्देनको संवादबाट कोशीको मुख्यमन्त्रीमा राप्रपाले कुन बाटो लिने तय हुनेछ ।