रुकुम । एक सातादेखि हिउँमा फसेका रुकुमपूर्वका १४ जना मजदुरलाई सोमबार (आज) उद्धार गरिएको छ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर हिउँमा फसेका थिए। उद्धार गरिएकाको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरूको घर पुथाउत्तरगंगा–२ पेल्मा लगिएको छ।
उनीहरूको उद्धारका लागि आज दिउँसो जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयले पठाएको हेलिकोप्टर मार्फत सकुशल उद्धार गरिएको बताइएको छ ।
म्याग्दी, बाग्लुङ र रुकुमपूर्वको सिमाना आसपासको उपल्लो घुसदुङमा गोरेटो बाटो खन्न उनीहरू गएका थिए।
बाक्लो हिमपात भएपछि उनीहरू घर फर्कन सकेका थिएनन्।