विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते शनिबार ९आज० विश्वासको मत लिँदैछन्।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका थिए। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।
कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा सहमति जुटेसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । ९३ जना सांसदमध्ये नेकपा एमालेका ४० ९उपसभामुखसहित०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।
सभामुखविहीन कोशीमा उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन।
दनुवार मतदानमा सहभागी नहुँदा एमालेका ३९ मात्रै सांसद रहन्छन्। यसअघि एमालेलाई समर्थन गरेको राप्रपाले यसपटक भने विश्वासको मतदानमा सहभागी नहुने बताइएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।
सर्वोच्च अदालतको परमादेशपछि बनेको एमाले संसदीय दलका नेता कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन्। त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ।