देशका विभिन्न स्थानमा हिमपात, हिउँ खेल्न पर्यटकको लर्को

न्युजलय १४ पुस २०७८, बुधबार ०७:५० मा प्रकाशित

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ।

काठमाडौंको चन्द्रागिरिमा बुधबार(आज) बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । 

पूर्वका उच्च पहाडी क्षेत्रमा समेत हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात सुरु भएको हो । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । 

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भइरहेको छ । 

यसैगरी संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे,मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।

चित्रे, बसन्तपुर, देउराली, तिनजुरे पाथीभरा, पाँचपोखरी, मंगलबारे, चौकी गुफा लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ । ‘बाक्लो हिउँ परिरहेकाले सडकमा सवारीसाधन गुड्न समेत समस्या भएको छ । 

यस्तै भोजपुरको सुन्तलेस्थित बाघखोरमा परेको हिउँ । माथिल्लो भेगमा एकदेखि डेढ फुटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् । हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ ।