काठमाडौं गोलीकाण्डः धरानबाट थप एक जना पक्राउ

न्युजलय ६ असार २०८०, बुधबार ०९:१३ मा प्रकाशित

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार धरानको भानु चोकस्थित सब्जीमण्डीबाट प्रहरीले राम भजनलाई पक्राउ गरेको हो । उनका अनुसार भारतीय नागरिक भगत जोगवनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन सुगर भित्र्याउने नाइके हुन् ।

धरानबाट विराटनगर हुँदै काठमाडौं आएका भगतलाई प्रहरीले २८ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने वित्तिकैदेखि पिछा गरेको थियो । प्रहरी अधिकृतहरुका अनुसार भगत लागूऔषध लिएर आएको सूचना थियो ।

त्यसक्रममा उनी विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गएका थिए । त्यहाँको एक होटलमा प्रवेश गर्ने वित्तिकै प्रहरी पनि भित्र छिरेको थियो । त्यसक्रममा प्रहरीसँग घम्साघम्सी भएको अधिकृतहरु बताउँछन् ।

त्यसदिन घटनास्थलबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको बताइएको छ । 

लागूऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । लामो समयदेखि धरानमा बस्दै आएका भगत त्यहाँ तरकारी पसल सञ्चालन गर्थे । 

त्यही पसलको आवरणमा उनले सञ्जाल नै खडा गरेर लागूऔषध विक्री वितरण गर्ने गरेको प्रहरी दाबी छ ।