विराटनगर । विराटनगर – ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अनियमितता गरेको खुलेको छ ।
यसअघि विराटनगरमै प्रधान कार्यालय रहेको तुलसी सहकारीका सञ्चालकले बचतकर्ताको करोडौं रकम अनियमितता गरेको खुलेको थियो ।
सहकारीको अनियमितता छानविन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा यस्तो अनियमितता भएको खुलेको हो । प्रतिवेदन अुनसार सहकारीका अध्यक्ष कर्णसहित चार जना सञ्चालकहरुले पाँच सयभन्दा बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेका छन् ।
जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजकत्वमा गठित चार सदस्यीय समितिले तयार पारेको छानविन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटाला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ । कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्कीपछि सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले सहकारीको धेरै रकम हिनामिता गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटाला गरेको खुलेको छ । थापा नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल मोरङका पूर्व सभापति पनि हुन् । यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा बिवेकशील पार्टीका नेता हुन् । उनले स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिको प्रमुखमा उम्मेदवारी दिएका थिए ।
यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटाला गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । समितिले छानविन गरी साउन १४ गते प्रतिवेदन तयार गरी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीलाई प्रतिवेदन बुझाएको छ ।
उक्त छानविन प्रतिवेदन अनुसार सहकारीका अध्यक्ष कर्णसहित सञ्चालक समितिका सदस्यहरुले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको देखाएको छ ।