अज्ञात रोगका कारण एउटै गाउँका ३ सय जना बिरामी

न्युजलय २३ असार २०८०, शनिवार ०८:३१ मा प्रकाशित

काठमाडौँ । कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् ।

अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रवार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ । 

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । 

बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ । नौ जना बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको महतले बताए । 

अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टङ्कप्रसाद आचार्यले जानकारी दिए ।  सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा. आचार्यले बताए ।