दोहा । युनाइटेड अरब इमिरेट्स् (युएई) मा पक्राउ परी जेल सजाय कटाई रहेका पत्रकार उमाकान्त पाण्डेलाई विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले रिहाइको माग गरेका छन् ।
कतार, कुवेत, बेलायत, युरोप, जापान, दक्षिण कोरिया, बेल्जियम र भारतस्थित महासंघ शाखाहरूका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै पाण्डेको रिहाइका लागि माग गरिएको हो । यूएईमा कार्यरत पाण्डेलाई सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसकै आधारमा पक्राउ गरी जेल सजाय भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालमा रहँदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर अबुधाबीस्थित नेपाली दूतावासले गरेको उजुरीका आधारमा युएई प्रहरीबाट पक्राउ गरी साइबर अपराधको मुद्दा लगाएर जेल सजाय गराउनुबाट अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको ठाडो उल्लङ्घन भएको जनाइएको छ ।
‘नेपालीहरूको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ’ प्रेस वक्तव्यमा भनिएको छ,’जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौँ।’