काठमाडौ । पाकिस्तानमा भारतीय उच्च गतिको मिसाइल खसेको छ । भारतले भुलवस मिसाइल छाडिएको भन्दै माफी मागेको छ ।
भारतको रक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै नियमित मर्मतसम्भार क्रममा प्राविधिक समस्याका कारण दुर्घटनावश मिसाइल खसेको उल्लेख गरेको हो।
पाकिस्तानले उक्त घटनाबारे भारतीय राजदूतसँग सोधपुछ गरेपछि रक्षा मन्त्रालयबाट यस्तो प्रस्टीकरण दिएको हो । यसबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिएको पनि मन्त्रालयको विज्ञप्तिमा छ।
पाकिस्तानको वायुसेनाले उक्त मिसाइल १२ हजार मिटर उचाइमा उडेको र जमिनमा खस्नुअघि पाकिस्तानी हवाई क्षेत्रमा १२४ किलोमिटरसम्म भित्र प्रवेश गरेको जनाएको छ। मिसाइलको गति क्षमता ध्वनिको गतिभन्दा तीन गुणा बढी भएको पनि पाकिस्तानी वायुसेनाले भनेको छ।