कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी

न्युजलय २० असोज २०८०, शनिवार ०७:२६ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । 


माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा अब आफ्नो दाबी रहेको बताएका हुन् । 


नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशमा मध्यावधि रोक्नको लागि माओवादीको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए । आङ्बोले अब कोशीमा माओवादी नेतृत्वको सरकार बनेको अवस्थामा कोशीमा मध्यावधिमा जानबाट रोकिने उल्लेख गरे 



आङ्बोले नेपाली काँग्रेसले सरकार गठन भएर पनि दुई दुई पटकसम्म विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनु पर्ने बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  राजीनामा दिएसँगै कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ । 


कार्की यस अघि संविधानको धारा १६८ (३) अनुसार ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गरेका थिए ।