काठमाडौं । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।
पाकिस्तानमा हालैको बाढीपहिरोका कारण पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए तीन सय ३० जहाजमार्फत् पाकिस्तानको कराँची सहर पठाइएको हो।
यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले यसअघि सन् २०१० मा पाकिस्तानलाई नगद एक करोड सहयोग गरेको थियो। पाकिस्तानले पनि २०७२ को विनाशकारी भूकम्पका बेला राहतस्वस्प नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराएको थियो।