३३ किलो सुन तस्करी एवं सनम हत्या प्रकरणः कृष्णगोपाल अग्रवाललाई धरौटीमा छाड्न आदेश

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार १०:३३ मा प्रकाशित

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या एवं  ३३ किलो सुन तस्करी मुद्दाका अभियुक्त किसन भनिने कृष्णगोपाल अग्रवाललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। 

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अग्रवालाई धरौटी लिएर तारेखमा छाड्न आदेश भएको जिल्ला अदालत मोरङले जनाएको छ । 

काठमाडौंबाट पक्राउ गरेर ल्याइएपछि मोरङ प्रहरीले उनलाई सोमबार अदालत उपस्थित गराएको थियो। वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि अदालतबाट अग्रवाललाई धरौटीमा छाड्ने आदेश भएको जनाइएको छ । 

सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले असोज १९ गते गरेको थियो।

पक्राउ परेका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश लम्सालकै इजलासले मुद्दाको फैसला गरेको हो। अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाइएको थियो। 

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको हो।