काठमाडौं । नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै सुन बरामद गरिएको छ । चीनबाट नेपाल भित्राइएको सय किलो हाराहारी सुन बरामद गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको सुन सिनामंगलबाट बरामद गरिएको हो ।
राजस्व विभागका अनुसार मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । एक किलो सुनको बजार मुल्य एक अर्ब रुपैया माथि छ ।
हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।
रेडी ट्रेड प्राइभेट लिमिटेडले उक्त सामान ल्याएको थियो । विभागको विशेष टिमले रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल र अन्य दुई जनालाई नियन्त्रणमा लिइसकेको छ । प्रारम्भिक अनुसन्धानमा दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयात गरिएको रेकर्डमा देखिएको छ ।
२०७४ सालमा चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले यूएईबाट ९ माघ २०७४ मा ल्याएको ३३ किलो सुन हराएको थियो । खोजीका क्रममा भरिया सनम शाक्य मारिएपछि सुरु भएको अनुसन्धानपछि गम्भीर मोड लिएको थियो ।
गोरेको समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको पत्ता लागेको थियो । यो प्रकरणका क्रममा प्रहरी अधिकारीहरु, भन्सार कर्मचारीदेखि तस्करीमा समूह ठूलो र्याकेटविरूद्द मुद्दा चलेको थियो । त्यसयता नेपालमा ठूलो परिमाणमा सुन बरामद भएको थिएन ।
सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।