भारतमा कोरोना संक्रमित मृतकको संख्या ५ लाख नाघ्यो

न्युजलय २१ माघ २०७८, शुक्रबार ०८:५३ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने कमी आउन सकेको छैन । बुधबार १ हजार ८ संक्रमितको मृत्यु भएको भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७२ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । 

 

भारतमा संक्रमितको संख्या भने निरन्तर घटिरहेको छ । बुधबार १ लाख ७२ हजार संक्रमित थपिएको भारतमा गत २४ घण्टामा भने १ लाख ४७ हजार व्यक्तिमा कोरोना पुष्टि भएको छ । बुधबारको तुलनामा बिहीबार त्यहाँ २५ हजार २३१ नयाँ संक्रमित कम भेटिएका हुन् । 


कोरोनाको तेस्रो लहर सुरु भएपछि भारतमा पहिलोपटक १ लाख ५० हजारभन्दा कम संक्रमित थपिएका हुन् । हाल भारतमा १४ लाख २७ हजार सक्रिय संक्रमित छन् । अहिलेसम्म त्यहाँ ४ करोड १९ लाख व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ४ करोड ५ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् ।