इटहरी । तेह्रथुमबाट शैक्षिक भ्रमण सकेर सुनसरीतर्फ फर्किंदै गरेको को १ ख ५३१३ नम्बरको बस धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्ती नजिकै दुर्घटना हुँदा घाइते भएका मध्ये एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय बस चालक भुवन चौधरीको विराट टिचिङ अस्पताल, विराटनगरमा उपचारका क्रममा मंगलवार मृत्यु भएको हो।
रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक भ्रमणका लागि पठाएको उक्त बसमा चालकसहित ४१ जना सवार रहेका थिए। दुर्घटनामा परेकाहरूमध्ये अधिकांश घाइते भएपनि उपचारपछि घर फर्किएका छन्।
तर, चालक चौधरी भने गम्भीर घाइते भएपछि धनकुटा अस्पतालमा सामान्य उपचारपछि विराटनगर पठाइएको थियो। विराटनगरमा उपचारकै क्रममा उनको मृत्यु भएको विद्यालय प्रशासनले जनाएको छ ।
आइतबार दिउँसो बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।