भारतमा विवाहको उमेर हद बढाइँदै

न्युजलय ३ पुस २०७८, शनिवार ०८:१५ मा प्रकाशित

नयाँदिल्ली । भारत सरकारले महिलाका लागि विवाहको न्यूनतम उमेर हद २१ वर्ष तोक्ने निर्णय गरेको छ । अहिलेको भारतीय कानुनमा विवाहका लागि पुरुषको उमेर न्यूनतम २१ र महिलाको १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।

 

सरकारले त्यसलाई संशोधन गरेर महिला र पुरुष दुवैको विवाहको न्यूनतम उमेर २१ पुर्‍याउने तयारी गरेको हो । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार कानुनमा आवश्यक संशोधनपछि उक्त नियम लागू हुनेछ । कानुन संशोधनको प्रक्रियाले केही समय लिनेछ । सन् १९५५ मा बनाइएको कानुनमा महिलाको विवाहको उमेर हद १८ वर्ष तोकिएको थियो । त्यसको झन्डै ६७ वर्षपछि कानुनमा संशोधनको तयारी गरिएको हो ।


नेपालमा भने महिला र पुरुष दुवैका लागि विवाहको उमेर हद समान २० वर्ष कायम गरिएको छ । मुलुकी संहिता २०७४ मा महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था छ । संहिता कार्यान्वयनमा आउनुपूर्व विवाह गर्ने न्यूनतम उमेर महिलाको हकमा १८ वर्ष र पुरुषको हकमा २० वर्ष थियो ।


महिला र पुरुषबीच हरेक क्षेत्रमा समानताको कुरा उठिरहेका बेला विवाहको उमेरमा किन असमानता भनेर भारतमा प्रश्न उठ्दै आएको थियो । सरकारले बनाएको एक समितिले महिलाको विवाहको उमेर हद पुरुषसरह बनाउन सिफारिस गरेको थियो ।  


सञ्चारमाध्यमसँगको कुराकानीमा उनले १८ वर्षमा विवाह गरिने कानुनी व्यवस्थाका कारण महिलाहरूले अध्ययन पूरा गर्न नपाउने, छिट्टै गर्भ धारण गर्नुपर्नेलगायत कैयन् समस्या देखिएको बताएकी छन् । छिटो गर्भधारणले आमा र बच्चाको पोषण स्तर तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेकाले विवाहको उमेर बढाउँदा त्यसमा कमी आउने विश्वास रिपोर्टमा गरिएको छ ।