धरानमा र्याली गरेरै छाड्ने घोषणा, प्रशासनले गोबधलाई संरक्षण गरेको आरोप

न्युजलय ८ भदौ २०८०, शुक्रबार ०७:२७ मा प्रकाशित

इटहरी । हिन्दू धर्म गुरुहरुले ९ गते धरानमा र्याली गरेरै छाड्ने घोषणा गरेका छन् । र्यालीको लागि देशभरबाट हजारौं मानिसहरु आउने तय भइसकेको जानकारी दिँदै प्रशासनको निषेधाज्ञाले नछेक्ने बताएका छन् । 


आफूहरुले गर्न लागेको शान्ती तथा सद्भाव र्‍यालीलाई अवरोध गर्ने उद्देश्यले सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै हिन्दु धर्मका धार्मिक गुरुहरूले विरोध जनाएका छन् । इटहरीमा शुक्रवार साँझ पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो निषेधाज्ञाले धरानमा गोबधलाई संरक्षण गरेको आशंका उत्पन्न भएको बताएका छन् ।


नेपालीको एकता र सद्भावलाई विथोल्न खोज्ने कुतत्वले गो हत्या गरेको उल्लेख गर्दै चतरा धामका पिठाधिष जगत् गुरु बाल सन्त मोहन शरण देवाचार्यले सद्भाव विथोल्न नदिन आफूहरुले कार्यक्रम गर्न लागेको बताए । 


‘हामी साधुहरुसँग कुनै हतियार पनि हुँदैन, हामी शान्तीपूर्ण तरिकाले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतालाई उपयोग गर्न र सद्भाव कायम गर्न कार्यक्रम गर्दैछौं,’ उनले भने, ‘प्रशासनको अवरोधले अवरुद्ध हुँदैन ।’


पत्रकार सम्मेलनमा दीनबन्धु शास्त्री महाराजले धरानमा सद्भाव भड्काउन खोजिएकोले धरानमै कार्यक्रम गर्न लागेको बताए । 


पत्रकार सम्मेलनमा बोल्दै अन्य धार्मिक गुरुहरुले गोहत्याका दोषीहरुलाई कारवाही नगरेर प्रशासनले हिन्दू भावनामा ठेँस पुर्याएको र संविधानको उल्लंघन गरेको समेत आरोप लगाए । गोहत्याका दोषीलाई कारवाही गरेमा आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नेसमेत बताए ।

धार्मिक भेलाको पुर्वसन्ध्यामा धरानमा र्‍याली तथा प्रदर्शन निषेध