इटहरी । धरानमा र्याली तथा प्रदर्शन गर्न निषेध गरिएको छ । ९ गते राती १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानभित्र मानिस भेला हुने कुनै पनि कार्यक्रम नगर्न निषेध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले डेंगु महामारीलाई देखाउँदै कुनै पनि सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली, प्रदर्शनलगायतका कार्य नगर्न आदेश दिएकी छिन् । आदेश विपरीत गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।
धरानमा एउटा समुहले गोरु काटेर भोज गरेपछि हिन्दू धर्मावलम्बीहरुले विरोधमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । शान्तीपूर्ण र्याली गर्ने भनिएपनि घुसपैठ भइ स्थिती तनावग्रस्त हुने अनुमान गरिएको थियो ।
दिउँसो प्रजिअले सुनसरीका सुरक्षा निकाय तथा राजनीतिक दलहरुसँग गरेको समन्वय बैठकले ९ गते धरानमा गर्ने भनिएको कार्यक्रम नगर्दा उपयुक्त हुने राय दिएको थियो । सोही रायका आधारमा प्रशासनले यस्तो आदेश दिएको हो ।