सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ

न्युजलय ५ साउन २०८०, शुक्रबार १२:३४ मा प्रकाशित

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै १०० किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप ३ जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । 

जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ । 

बिहीवार साँझ पक्राउ गरिएका तीनै कार्गो तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन ।  ३ जनासहित अहिलेसम्म सुन प्रकरणमा १० जना पक्राउ परेका छन् । 

त्यसमध्ये ६ जनालाई बिहीवारै उच्च अदालत पाटनबाट १० दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको छ । बिहीवार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित ४ जनालाई शुक्रवार अदालत लगेर थुनाको अनुमति लिइने जनाइएको छ ।

बिहीवार दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । 

बुधवारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । 

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधवार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।