निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ

न्युजलय ३२ साउन २०७९, बुधबार ०१:२० मा प्रकाशित

काठमाडौं । निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई मंगलबार साँझ धनुषाबाट पक्राउ गरेको हो ।

धनुषाकी राजपुतले ‘आफूमाथि श्रेष्ठले बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको’ आरोप लगाउँदै आएकी छन् । उनले आरोपी श्रेष्ठलाई कारबाही माग गर्दै ‘बच्चाको डीएनए परीक्षण’ माग गर्दै आएकी छन् ।

आफूमाथि श्रेष्ठले ‘बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको’ निहारिकाको आरोप छ । घटना अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउनेगरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

सोही मागसहित राजपुत काठमाडौं माइतीघरमण्डला र वसन्तपुरमा यसअघि आमरण अनसनमासमेत बसेकी थिइन् । उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाह प्रयाससमेत गरेकी थिइन् ।