अझै तीन दिन तापक्रम बढ्ने सम्भावना

न्युजलय ५ बैशाख २०७९, सोमबार ०१:४३ मा प्रकाशित

काठमाडौं । अबका तीन दिनसम्म नेपालको तराईसहितका विभिन्न स्थानमा तापक्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम वृद्धि हुने र बुधबारदेखि घट्न सक्ने बताएका हुन्। 


केही दिनयता तापक्रम वृद्धि भइरहेको उल्लेख गर्दै उनले अझै केही दिन तापक्रमको वृद्धि कायम रहने बताए । नेपालमाथिको आकाशमा उच्चचापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम वृद्धि भएको उनको भनाइ छ। बिहीबारदेखि भने उच्चचापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा घट्न सक्ने वरिष्ठ मौसमविद् प्रधानाङ्गको अनुमान छ। 


विगत केही दिनदेखि नेपालको विभिन्न स्थानहरुमा तापक्रम बढ्ने क्रममा देखिएको छ। यसको मुख्य कारण चाहिँ नेपालको माथिल्लो वायु मण्डलमा उच्चचापीय प्रणालीको प्रभाव रहेको देखिन्छ।  


पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा फेरी तापक्रम वृद्धि हुने सम्भावना रहेको समेत उनले बताए। उनले तराई क्षेत्रमा भने बढी नै तापक्रम वृद्धि हुने उल्लेख गरे। हाल तराईका केही स्थानहरुमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।