काठमाण्डौ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरू आफूहरूको मागको सम्बोधनमा बेलायत सरकार उदासीन भएको भन्दै पुनः आन्दोलनको तयारीमा लागेका छन् ।
यसअघि १३ दिनपश्चात आमरण अनशन तोडेका उनीहरू १० महिना बितिसक्दा पनि वार्ता नभएको भन्दै पुनः अनशन बस्न लागेका हुन् । लामो समयदेखि समानताको आन्दोलन गरिरहेका गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आइतबार गरेको छलफलपछि २१ जुलाईदेखि पुनः आमरण अनशनमा जाने निर्णय गरेको छ ।
तलब, पेन्सन अन्य सेवा सुविधालगायतमा विभेद अन्त्यको माग राख्दै भूपू गोर्खा सैनिकले तीन दशकदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सडक, सदन र अदालतमा पुगेको आन्दोलन अझै हल भएको छैन ।
अनसनमा गएपछि हुने दुर्घटनाको सम्पुर्ण जिम्मेवारी बेलायत र नेपाल सरकार लिनुपर्ने पनि गोर्खालीहरूले चेतावनी दिएका छन ।
यसअघि लण्डनस्थित प्रधानमन्त्री कार्यालयअगाडि विभेदको अन्त्यको माग राख्दै ब्रिटिस भूपू गोर्खा सैनिकहरू २१ जुलाईदेखि ७ अगस्टसम्म रिले अनशन र ७ जुलाईदेखि १९ जुलाईसम्म आमरण अनशन बसेका थिए ।
बेलायती रक्षा राज्यमन्त्री डचर्टी र तत्कालीन नेपाली राजदूत लोकदर्शन रेग्मी अनशनस्थलमा प्रतिबद्धता जनाएपछि गोर्खालीले अनशन तोडेका थिए ।
२०१३ को ७ नोभेम्बरदेखि २१ गोर्खा अभियन्ता ज्ञानराज राईले पहिलो पटक आमरण अनशनमा बसेका थिए ।