काठमाण्डौ । श्रीलङ्कामा ऊर्जा सङ्कट थप खराब अवस्थामा पुगेको छ । इन्धनको मूल्य दिनमै १२ प्रतिशतसम्म बढेको छ ।
इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डीजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढेको हो । तीन हप्ता अगाडि सात प्रतिशत भाउ बढेकोमा आज फेरि बढेको हो ।
कोभिड–१९ महामारीको कारण प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र सङ्कटग्रस्त बनेपछि श्रीलङ्का आर्थिक सङ्कटको चपेटामा परेको छ । सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा आयातमा कडाइ गरेको थियो । अहिले देशमा इन्धन, विद्युत्, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको अभाव भइरहेको छ ।