सुनसरी । सप्तकोसी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रवार साँझबाटै ५६ ढोका खोलिएको हो ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रवार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो ।
गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च र अहिलेसम्मको पाँचौँ पटक उच्च मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताए ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको थियो कोसीमा पानीको बहाव उच्च भए पनि पूर्वी तटबन्धमा सामान्य कटान बाहेक कुनै क्षति नभएको र श्रीलङ्का टापुमा भने कटान भइरहेको बताइएको छ ।