प्रतिष्ठान छाड्दै चिकित्सक : बढुवा रोकिएपछि सामूहिक राजिनामा

न्युजलय २४ असोज २०८०, बुधबार ०७:०३ मा प्रकाशित

सुनसरी । विगत ७ वर्षदेखि बढुवा रोकिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

आन्दोलनरत चिकित्सकहरूले बु्धबार दिउँसो स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । यसअघि मंगलबार उनीहरुले ज्ञापनपत्र बुझाएका थिए । तर मन्त्री बस्नेतले पदाधिकारीलाई बोलाएर चाँडो निकास निकाल्न भनिसकेको बताएका थिए । 

मन्त्रीको भनाईबाट असन्तुष्ट भएका चिकित्सकहरुले राजिनामा दिएका हुन् । 

उनीहरूले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरूले प्रतिष्ठान छाडेको गुनासो गरेका छन् ।