काठमाडौं । दक्षिणी अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक चिडियाघरमा राखिएका सिंह र प्युमामा गम्भीर प्रकारको कोभिड १९ संक्रमण देखिएपछि नयाँ भेरियन्ट उत्पन्न हुने चिन्ता बढेको छ ।
सुरुमा चिडियाघरमा जनावरको रेखदेख गर्ने कर्मचारीमा लक्षणबिनाको कोभिड १९ संक्रमण देखिएको थियो । तिनै कर्मचारीबाट सिंह र प्युमा (बन बिरालोको एक प्रजाति)मा कोरोना भाइरस सरेको हुन सक्ने ब्लूमबर्गले जनाएको छ ।
समाचारअनुसार कोभिड १९ बाट संक्रमित सिंह र प्युमामा सास फेर्न गाह्रो हुने, नाकबाट सिँगान बग्ने सुख्खा खोकी लाग्ने लगायतका लक्षण देखिएका थिए ।
एक स्थानीय विश्वविद्यालयले सन् २०२० मा गरेको २ वटा प्युमाको दिसापिसाब परीक्षणपछि ती प्युमामा पखाला, नाकबाट सिँगान बग्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षणसहित कोभिड १९ को संक्रमण पाइएको थियो । प्रिटोरिया विश्वविद्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुबै प्युमा २३ दिनपछि संक्रमणमुक्त भएको उल्लेख छ ।
त्यसको एक वर्षपछि अर्थात् दक्षिण अफ्रिकामा डेल्टा भेरियन्टका कारण सुरु भएको तेस्रो कोभिड लहरबीच ३ वटा सिंहमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पोजिटिभ देखिएको एउटा सिंहलाई निमोनिया भएको समाचारमा उल्लेख छ ।
हालसम्मका अध्ययनले जनावारबाट मानिसमा कोरोना भाइरस सरेको देखाउँछ । तर प्रिटोरिया विश्वविद्यालयको उक्त अध्ययनले मानिसबाट जनावारमा कोरोना भाइरस सर्न सक्ने देखाउँछ । सिंह संक्रमित भएका बेला चिडियाघरका कर्मचारीमा भाइरस फैलिइसकेको र कर्मचारीबाटै सिंह तथा प्युमामा कोरोना भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ ।
ती जनावारमा कोरोना भाइरस उत्परिवर्तन भएको र पुनः मानिस संक्रमित हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । जनावारको रेखदेख गर्दा समेत मास्क लगाउनुपर्ने र स्वास्थ्यका अन्य मापदण्ड अपनाउनु पर्ने उनीहरूको सुझाव छ ।