बढ्यो व्यापार घाटा

न्युजलय ९ साउन २०७९, सोमबार ०९:३५ मा प्रकाशित

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको छ ।

भन्सार विभागले सोमबार (आज) सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा १६४ देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।

तथ्याङ्कअनुसार  उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो  । 

१२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्रै रु दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । 

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट रु दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र रु ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग रु दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।