तक्मामा प्रयोग हुने सुनको परिमाण घटाउने सरकारको निर्णय

न्युजलय १५ असार २०७९, बुधबार १०:०३ मा प्रकाशित

काठमाडौं । सरकारले दिँदै आएको तक्मामा प्रयोग हुने सुन र आकारमा हेरफेर गर्ने भएको छ । 

गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको मात्रा घटाएर तक्माहरूको आकारमा फेरबदल गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

सरकारले राष्ट्रलाई विशेष योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान स्वरुप विभूषण दिँदै आएको छ । संविधान दिवसको अवसर पारेर पदक दिँदै आइएको छ । 

विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ ले नेपाली नागरिक वा विदेशी नागरिकले स्वदेश तथा विदेशमा रहेर उल्लेखनीय काम गरेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिए विभूषण प्रदान गर्न सिफारिस गर्न सक्ने व्यवस्था गरेको छ । 

जसमा राजनीतिक, सामाजिक, आर्थिक, शान्ति सुरक्षा र प्रशासन, शिक्षा, स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान, प्रविधि, अन्वेषण, अनुसन्धान, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण व्यक्तिलाई पदक दिन सकिने भनिएको छ ।

नेपालरत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री गरी चार प्रकारका पदक प्रदान गर्ने गरिन्छ । नेपालरत्न वर्षमा एक जनालाई मात्र दिइन्छ ।