काठमाडौंबाट दिल्ली जाँदै गरेको बसमा पौने तीन करोडको भेप

न्युजलय ७ असार २०८१, शुक्रबार ०७:०६ मा प्रकाशित

काठमाडौँ । काठमाडौँबाट दिल्ली जाँदै गरेको बसबाट पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ।

हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको संयुक्त टोलीले बस जाँचका क्रममा भेप सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। 

हेटौंडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा सुरक्षा जाँचका क्रममा काठमाडौंबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसबाट भेप र पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसमा लुकाएर लगिरहेको अवस्थामा ५८ कार्टून भेप फेला परेको बताइएको छ । त्यसको मूल्य दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ बराबर छ।

भेप ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बस चालक दोलखाको भीमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का ३९ वर्षीय इन्द्रबहादुर दर्जी, ३० वर्षीय सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई पक्राउ गरेको छ।

बसमा केही भारतीय यात्रु पनि सवार थिए। उनीहरूलाई विभिन्न मान्छे मार्फत सम्पर्क गरेको पाइएको छ। पक्राउ परेका केही व्यक्ति यसअघि पनि अवैध सामान ओसारपसारमा संलग्न रहेको देखिएको प्रहरीको भनाइ छ।