नयाँ भेरियन्टको त्रासः दैनिक दुई लाख जनालाई खोप दिइने

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार ०९:२९ मा प्रकाशित

काठमाडौ । नेपाल सरकारले दैनिक दुई लाखजनालाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दैनिक न्यूनतम दुई लाखजनालाई खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

अहिले दैनिक डेढदेखि तीन लाखजनासम्मलाई कोभिड–१९ विरुद्धको खोप दिइरहेको छ । हालसम्म ८५ लाख ५९ हजार २४२ जनाले कोभिड–१९ विरुद्धको दुवै डोज र एक करोड एक लाख २७ हजार ४०७ जनाले पहिलो डोज खोप लगाएका छन् ।

आक्रामक मानिएको ओमिक्रोन भेरियन्ट भारतमासमेत देखिसकेको अवस्थामा नेपालमा सतर्कता बढाइएको हो । नयाँ भेरियन्ट परीक्षण गर्न सरकारले देशभरका सीमानाकामा रहेका हेल्थ डेस्कबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गरिरहेको छ । 

नेपालमा अहिलेसम्म ओमिक्रोन नदेखिएको र अहिले नै निषेधाज्ञा गर्ने तयारी पनि नभएको जनाइएको छ ।