अब कतारबाटै विद्युतीय राहदानी बनाउन सकिने

न्युजलय २४ माघ २०७८, सोमबार ०८:१६ मा प्रकाशित

दोहा । अब कतारस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । विद्युतीय राहदानी (ई पासपोर्ट)का लागि प्रि इनरोलमेन्ट सुरु भएको दूतावासले जनाएको छ ।


दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपाली दूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग काठमाडौँबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी (ई पासपोर्ट) तयार भएको जनाएको छ ।


यो सफलतासँगै नेपाली दूतावास दोहा विद्युतीय राहदानी प्रणाली प्रयोगमा ल्याउने पहिलो नेपाली दूतावास बनेको छ । ई पासपोर्ट प्रणाली सफलतापूर्वक सुरुवात भएसँगै आइतबारदेखि नै दूतावासमा ई पासपोर्टका लागि आवेदन प्रि इनरोलमेन्ट बुकिङ खुल्ला गरिएको दूतावासले जनाएको छ ।


ई पासपोर्ट सुरु भएको प्रारम्भिक चरणमा केही सीमित बुकिङ मात्र खुल्ला गरिएको छ । अहिले राहदानीको म्याद सकिएका वा तीन महिना भन्दा कम समय बाकी भएकाहरूले मात्र आवेदन दिन सक्ने दूतावासले जनाएको छ ।